सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नु सबैको कर्तव्य । प्रेस स्वतन्त्रतामाथिको चुनौती कायमै । २० वैशाख, २०८०
प्रेस–विज्ञप्ति
२० वैशाख, २०८०
सन्दर्भ ः विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नु सबैको कर्तव्य ।
प्रेस स्वतन्त्रतामाथिको चुनौती कायमै
‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) मनाइएको छ । तथापि नेपाललगायत विश्वमा नै मानव अधिकारको महत्वपूर्ण संवाहक रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको चुनौती भने कायमै छ ।
नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार नेपालमा यस वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका ५५ घटनाबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था गरी कुल १०१ पीडित हुन पुगेको जसमा पत्रकार गिरफतारका २, कब्जा र अवरोधका ७, दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका ११, लैङ्गिक हिंसाका २, विस्थापनको १ र पेशागत असुरक्षाका ८ वटा घटना भएको देखिएको छ । प्रेसमाथि हुने यसप्रककारका घटनाप्रति आयोगले चिन्ता व्यक्त गरेको छ । जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीहरुको सामना गर्दै अहोरात्र कार्यक्षेत्रमा खटिने पत्रकारहरु भौतिक रुपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको, पत्रकारहरुप्रति असहिष्णु व्यवहार हुने गरेको, समाचार सङ्कलनका लागि स्थलगत रुपमा खटिँदा पत्रकारलाई हतोत्साहित गरिएको जस्ता सूचनाहरु राष्ट्रिय मानव अधिकार आयोगमा प्राप्त भएका छन् । प्रेसमाथि हुने यसप्रकारका व्यव्र्यवहार रोक्न र प्रेस स्वतन्त्रताप्रति उदार हुन आयोगले पटकपटक आह्वान गर्दै आएको छ ।
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको सम्बन्ध अन्योन्याश्रित रहने हुनाले प्रेस स्वतन्त्रता पत्रकारहरुको लागि मात्र आवश्यक नभई सबै नागरिकहरुको आवश्यकताको विषय हो । तसर्थ, कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउने कार्य लोकतान्त्रिक राज्यको लागि शोभनीय हुँदैन । पछिल्लो समय स्वतन्त्रताको सीमाहीन अभ्यास र घृणायुक्त अभिव्यक्तिको मारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पर्दै गएकोप्रति आयोग चिन्ता व्यक्त गर्दछ । घृणायुक्त अभिव्यक्तिले अन्ततः प्रेस स्वतन्त्रतामाथि नै हानी पुर्याउने हुँदा अभिव्यक्ति स्वतन्त्रताको आवरणमा हुने घृणायुक्त अभिव्यक्तिप्रति सम्बन्धित निकायबाट नियमन हुनु आवश्यक छ ।
संविधानप्रदत्त नागरिकको सूचनाको हक प्रत्याभूतिका लागि अभिव्यक्ति स्वतन्त्रताको अहम भूमिका हुने हुँदा प्रेस र पत्रकारहरुमाथि हुने गरेको दुव्र्यवहार र हतोत्साहन कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता एवम् नेपालको संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको समेत प्रतिकूल हुने देखिन्छ । अतः विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न एवम् पत्रकारको सुरक्षा गर्न आयोग नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।
.......................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता