आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर । ११ असोज, २०८३
प्रेस विज्ञप्ति ११ असोज, २०८३ आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर । सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा अनुगमनका लागि आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली आज टेकुस्थित प्रहरी परीसर पुगेको थियो । सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ । अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था उल्लेख छ । उल्लिखित संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ । अतः निष्पक्ष छानविन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ .................... डा.टीकाराम पोखरेल प्रवक्ता/सहसचिव