Press Release

Text Size A A A

अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर । सार्थक वार्ताबाट समस्याको समाधान खोज । १४ वैशाख २०८०

प्रेस विज्ञप्ति

१४ वैशाख २०८०

अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर ।
सार्थक वार्ताबाट समस्याको समाधान खोज


कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागहरु राखी गत वैशाख ५ गतेदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा रहेका नुवाकोट ककनीका श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।


आयोगले अनसनस्थल पुगेर अनुगमन गर्नुका साथै, अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । स्वास्थ्य परीक्षण गराउँदा निजको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको अनुगमनबाट पाइएको छ । नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा ६ ले जीवनको अधिकारको उल्लेख गरेको छ । त्यस्तै, नेपालको संविधानको धारा १६ ले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लेख गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले २०७५ सालमा किसानको अधिकारसम्बन्धी कानुनहरुको पुनरावलोकन तथा अध्ययन प्रतिवेदन तयार गरी नेपाल सरकारलाई १५ बुँदे सिफारिससमेत गरेको आयोग स्मरण गर्दछ । जसमा कृषि प्रविधि, उपकरण तथा सूचनाको पहुँचको अधिकार, नीतिगत निर्णयहरुमा सहभागिताको अधिकार, किसान परिचय पत्र उपलब्ध गराई विशेष सहुलियतको व्यवस्था गर्न, किसानले उत्पादन गरेको खाद्यान्नको भण्डारण र सुरक्षण, बजार व्यवस्थापन र अन्नको सुरक्षा गरी किसानसहित सबै नागरिकलाई खाद्यान्नमा सहज पहुँचको व्यवस्था गर्न लगायतका सिफारिसहरु रहेका छन् ।   


अतः अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन हुन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, आफ्ना मागहरु राख्दा आमरण अनसन जस्तो कठोर बाटो नरोज्नसमेत आयोग अनशनरत पक्षलाई अनुरोध गर्दछ ।                                           

........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

Download

Nepali Version Download

Accessibility Tools