Press Release

Text Size A A A

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर । प्रदर्शनलाई हिंसात्मक नबनाऊ । १५ जेठ, २०८०

प्रेस विज्ञप्ति
१५ जेठ, २०८०
 
अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर ।
प्रदर्शनलाई हिंसात्मक नबनाऊ ।
 
कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगको कोशी प्रदेश कार्यालयले घटनाहरुको निरन्तर अनुगमन गरिरहेको छ । आयोगले यसअगाडि २०७९ चैत्र १७ गते विज्ञप्ति मार्फत विरोध प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बु) का परिवारलाई क्षतिपूर्ति दिन, मृत्युको घटनामा संलग्न दोषीलाई कारवाही गर्न र प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको कुरा पुनः स्मरण गराउँदछ ।
पछिल्लो समय २०८० जेठ १४ गते भएको विरोध प्रदर्शनका क्रममा भएका घटनाहरुको समेत आयोगले अनुगमन गरेको छ । जेठ १४ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएका, घाइतेहरुमध्ये १२ जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा, २४ जनाको कोशी अस्पतालमा र एक जनाको बिराट नर्सिङ होममा उपचार भइरहेको पाइएको छ । झडपका क्रममा १६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी घाइते भएको, प्रहरीले स्थिति नियन्त्रणमा लिन माइकिङ, पानीको फोहरा तथा ९१ राउण्ड अश्रुग्यास प्रयोग गरेको सुरक्षाकर्मीबाट जानकारी प्राप्त भएको छ । प्रदर्शनकारीतर्फ २० जना घाइते भएको प्रदर्शनकारीले बताएका छन् । यसैगरी प्रदर्शनकारीहरुले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ढुंगा, इँटा प्रहार गर्दा मन्त्रालयका झ्यालका शिसा फुट्नुका साथै कर्मचारी बस्ने कुर्सीहरुमा समेत शिसाका टुक्राहरु पुगेको र स्वास्थ्य मन्त्रालयमा राखिएको एउटा गाडीको शिसा समेत फुटाइएको अनुगमनबाट पाइएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ र नेपालको संविधानको धारा १७ ले नागरिकको मर्यादित ढंगले विचार राख्ने र शान्तिपूणर् गतिविधि गर्ने स्वतन्त्रताको प्रत्याभूति गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र संविधानले प्रत्याभूत गरेका नागरिकका यी अधिकारहरुको सुनिश्चितता गर्नु राज्यको दायित्व हुन्छ ।
अतः नागरिको शान्तिपूणर् भेला हुने र विचार राख्ने अधिकारको सम्मान गर्न, कुनै व्यक्तिलाई कारवाहीको दायरामा ल्याउँदा कानुनसम्मत विधि र मानव अधिकारमैत्री व्यवहार गर्न, विवादको विषयलाई वार्ता र संवादको माध्यमबाट टुंग्याउन, आम नागरिकले आफ्नो पेशा, व्यवसाय र गतिविधि निर्वाध रुपले गर्न सक्ने गरी भयरहीत वातावरण सिर्जना गर्न र मानव अधिकारका मूल्यमान्यताको ख्याल गरी प्रदर्शकारीहरुमाथि संयमित व्यवहार गर्न आयोग नेपाल सरकार, कोशी प्रदेश सरकार, सुरक्षा निकाय तथा सम्बद्ध सबैलाई आग्रह गर्दछ । यसैगरी, आफ्ना मागहरु राख्दा विधिसंगत, शान्तिपूणर् र मर्यादित ढंगले राख्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार प्रभावित हुने गतिविधि नगर्न तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन आयोग प्रदर्शनकारीहरुलाई अनुरोध गर्दछ । साथै, राजनीतिक दलहरुले पनि प्रदर्शनलाई हिंसारहित तथा शान्तिपूणर् बनाउन तथा वार्ता र संवादकै माध्यमबाट समाधान खोज्नका लागि सार्थक भूमिका निर्वाह गर्न आयोग राजनीतिक दलहरुलाई समेत अनुरोध गर्दछ ।
...................................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

Download

Nepali Version Download

Accessibility Tools