Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच समझदारीपत्रमा हस्ताक्षर । २६ जेठ, २०८०

प्रेस नोट
 २६ जेठ, २०८०
 
राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच समझदारीपत्रमा हस्ताक्षर
 
राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच आप्रवासी कामदारको मानव अधिकार संरक्षणार्थ समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय मानव अधिकार समिति, कतारका उपाध्यक्ष महामहिम डा. मोहम्मद सैफ अल कुवारीबीच मिति २०८० जेठ २५ ( तदनुसार, ८ जुन २०२३) मा काठमाडौँमा भएको एक समारोहमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारिपत्रको अवधि तीन वर्षका लागि हुनेछ ।
समझदारीपत्रमा विशेष गरी आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणका लागि गुनासो तथा उजुरीहरुको सम्बोधनमा सहयोग गर्ने, दुवै पक्षले एक अर्काको देशमा रहेका नागरिकहरुको मानव अधिकार र स्वतन्त्रताको उल्लङ्घनका घटनाहरुबारे पारस्परिक जानकारी र सहयोग गर्ने, सूचना आदानप्रदान, श्रमिक, रोजगारदाता र प्रबन्धक, श्रमिक संघ र कुटनीतिक नियोगहरुलाई आप्रवासी श्रमिकको अधिकारका सवाल, विद्यमान कानुन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु र आइएलओ श्रम महासन्धिबारे प्रशिक्षण सञ्चालन गर्ने एवम् आप्रवासी श्रमिकहरुलाई कानूनी सहयोगलगायतका विषयहरु रहेका छन् । समझदारी पत्रमा उल्लिखित उद्देश्यहरुको कार्यान्वयनका चरणहरुको अनुगमन र मूल्याङ्कन गर्न र आवश्यकता अनुसार सहयोगका क्षेत्रहरुको पहिचान गर्न दुवै पक्षका प्रतिनिधिहरुबीच प्रत्येक ६ महिनामा नियमित वैठक बस्ने व्यवस्था रहेको छ ।  
हस्ताक्षर समारोहमा बोल्दै आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले मानव अधिकारसम्बन्धी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय कानूनहरु, संयन्त्रहरु र नीति तथा योजनाहरु हुँदा समेत आप्रवासी श्रमिकहरुले विभिन्न खालका समस्या भोग्नुपरिरहेको बताउनुभयो । सो अवसरमा, राष्ट्रिय मानव अधिकार समिति कतारका उपाध्यक्ष, महामहिम, डा. मोहम्मद सैफ अल कुवारीले कतारमा हाल चार लाख भन्दा बढी नेपाली आप्रवासी श्रमिकहरु रहेको बताउँदै समझदारी पत्रमा भएको हस्ताक्षरबाट उनीहरुको अधिकारका सम्बन्धमा सूचना आदानप्रदान गर्न र मानव अधिकारका सवालहरुको सम्बोधनमा सहयोग पुग्ने भनाई राख्नुभयो ।  
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा विभिन्न विषयगत आयोगका माननीय अध्यक्षहरु, आयोगका माननीय सदस्यहरु, नेपाल सरकारका सचिव, सहसचिव तथा उच्च पदस्थ कर्मचारीहरु, कुटनीतिक नियोग, आप्रवासी कामदारका अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, आयोगका कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
  .........................
  श्यामबाबु काफ्ले
  सहायक प्रवक्ता/उपसचिव

Nepali Version Download