अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर । ३१ साउन, २०८०
विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानव अधिकार अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ ।
धनुषाकी आरति साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारवाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारवाहीको माग गर्दै आरति रावल अनशन बसीरहेको, वर्षात्को समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ । अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे छ । दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय हो ।
अतः निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
सहसचिव / प्रवक्ता