बालसुधार गृहमा भएको घटनाको अनुसन्धान प्रारम्भ । ७ भदौ, २०८०
प्रेस विज्ञप्ति
७ भदौ, २०८०
बालसुधार गृहमा भएको घटनाको अनुसन्धान प्रारम्भ ।
भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहभित्र २०८०/०५/०३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बालसुधार गृहमा तोडफोड भएको र सुधारगृहबाट बालबालिकाहरु बाहिर निस्केको भनिएको घटना सम्बन्धमा आयोगको ध्यानाकर्षण भई आयोगले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा आयोगले बालसुधार गृहमा रहेका बालबालिकाहरु, बालसुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानविन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानविन समितिका सदस्यहरुसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै, बालसुधार गृहपरिसरको अवलोकन गरेको छ । बालसुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवम् सुधारगृहका कमाण्डरहरुले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावमा मृत्यु भएको भन्दै बालसुधार गृहका बालकहरुको समूहले २०८०/०५/०४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधारगृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै दश जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको छ । आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको छ ।
अत ः बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र बालसुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।
.............................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता