Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको अपिल ,१७ असोज, २०८० ; NHRC Nepal urge to maintain religious and social harmony, October 4, 2023

प्रेस विज्ञप्ति
१७ असोज, २०८०

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको अपिल

बाँकेको नेपालगञ्जमा हिँजो र्यालीको क्रममा हिन्दु र मुस्लिम समुदायबिच विवाद सिर्जना भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार र उच्छृंखल गतिविधिहरुका कारण केहीस्थानमा झडप हुँदा ५ जना सुरक्षाकर्मीसहित २२ जना व्यक्ति घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगको नेपालगञ्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको छ ।
केही दिनअघि सामाजिक सञ्जालमा भएका टिप्पणी र प्रतिक्रियाको विषयलाई लिएर असोज १४ गते मुस्लिम समुदायबाट जिल्ला प्रशासन कार्यालय परिसरमा टायर बालेर प्रदर्शन गरिएको, यसको विरोधमा ओमकार समाज र शिव सेनासहितका केही हिन्दु समर्थकहरुले असोज १६ गते नेपालगञ्ज उपमहानगरपालिका बन्दको आव्हन गर्दै बिहान १० बजेदेखि प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएकोमा जिल्ला प्रशासन कार्यालय बाँकेमा असामान्य अवस्थालाई सम्बोधन गर्नका लागि ्असोज १५ गते सर्वदलीय बैठक बसेको आयोगको अनुगमनको क्रममा पाइएको छ । बैठकको निर्णय बमोजिम असोज १६ गते विहान ७ बजे सद्भाव र्याली निकालिएको थियो । सोही दिन विहान ओमकार समाजसहितका हिन्दु समर्थकहरुको प्रदर्शनको क्रममा ढुंगामुडा प्रहार भएपश्चात दुई समूह बिच दोहोरो झडप भएकोले अवस्थालाई थप हिंसात्मक हुन नदिन नेपालगञ्ज उपमहानगरपालिकाभित्र जिल्ला प्रशासन कार्यालयद्वारा असोज १६ गतेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको जानकारी प्राप्त भएको छ । झडपको क्रममा घाइते भएका २१ जना उपचारपश्चात् घर फर्किएका र एकजना सर्वसाधारणको भेरी अस्पतालमा उपचार भइरहेको देखिएको छ ।
नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबद्र्धन गर्ने उल्लेख गरिएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ ।
अत ः साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न, घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदाय बिचको सुसम्बन्धमा खलल् पग्ने गतिविधिहरु नगर्न/नगराउन र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ ।
........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

Nepali Version Download