भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु ; उद्धार, राहत तथा खोजीमा जुट्न आयोगको अपिल । १८ कात्तिक, २०८० Monitoring initiated by National Human Rights Commission on earthquake affected districts; Appeal of the Commission to join rescue, relief and search activities.
प्रेस विज्ञप्ति
१८ कात्तिक, २०८०
भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु
उद्धार, राहत तथा खोजीमा जुट्न आयोगको अपिल
गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गर्दछ । भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान गरिसकेको छ । साथै, आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको छ । आयोगलाई हालसम्म प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ जनाको ज्यान गएको र ५५ जना घाइते भएका एवम् रुकुम पश्चिममा ३७ जनाको ज्यान गएको र ८५ जना घाइते भएको पाइएको छ ।
भूकम्पमा परि घाइते भएकाहरुको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजकार्यमा जुट्न आयोग नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।
........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव