Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

सन्दर्भ : १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १); श्रमिकका अधिकार सुनिश्चित गर । १९ वैशाख, २०८१

प्रेस–विज्ञप्ति


१९ वैशाख, २०८१


सन्दर्भ : १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १)
श्रमिकका अधिकार सुनिश्चित गर ।


आज विश्वभर १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपालमा यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाईँदै छ । यस अवसरमा आयोग सम्पूर्ण श्रमिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।  


मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका संयुक्त राष्ट्र संघद्वारा जारी अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी महासन्धिहरु, नेपालको संविधान, श्रम ऐन, नियमावलीलगायतमा श्रमको सम्मान, समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने, रोजगार सम्झौता नगरी काममा लगाउन नपाउने, बालबालिकालाई काममा लगाउन नहुने, न्यूनतम पारिश्रमिक, विदा, आराम र विश्राम, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षासम्बन्धी व्यवस्था, ट्रेड युनियन खोल्न पाउने र सामूहिक सौदावाजी गर्न पाउने लगायतका अधिकारको व्यवस्था गरिएको छ । त्यसैगरी, मानव बेचबिखन, बालश्रम र जबरजस्ती श्रमबाट मुक्त हुने वातावरणको सिर्जना गर्नुपर्ने कानुनी दायित्वका साथै श्रमिकको हक उल्लङ्घन भएमा उपचार प्राप्त गर्न सक्ने व्यवस्था समेत श्रम ऐन र नियमावलीमा गरिएका छन् ।


उल्लिखित संवैधानिक तथा कानूनी व्यवस्थाका बावजुद् देशभित्र श्रमको वातावरण र उचित सम्मान हुन नसक्दा दैनिक हजारौंको सङ्ख्यामा वैदेशिक रोजगारीमा गइरहेको पाइएको छ । त्यस्तै, निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिकाहरु, इट्टा भट्टा, होटल तथा रेष्टुरेन्टहरु र निजी घरहरुमा समेत बालश्रमिकको रुपमा काम गर्न बाध्य भएको एवम् बाल हिंसा र यौनदुव्र्यवहारबाट पीडित भएका भनिएका घटनाहरु आयोगको जानकारीमा आएका छन् । कार्यस्थलमा हुने दुर्घटनाबाट नेपालमा श्रमिकहरु दिनहुँ घाइते तथा अङ्गभङ्ग हुनुपरेको मात्र नभएर ज्यानै समेत गुमाउनुपरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।


अत : श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिन, नेपाल सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने, गराउने कार्यमा विशेष जोड दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।
..........................
डा. टीकाराम पोखरेल
प्रवक्ता\सहसचिव

 

Download