Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर। २१ वैशाख, २०८१

प्रेस–विज्ञप्ति

२१ वैशाख, २०८१

सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर


आज विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) A press for the planet: Journalism in the face of the environmental crisis (विश्वका लागि प्रेस ः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता) भन्ने मूल आशयका साथ विश्वभर मनाइँदै छ । विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग सञ्चारकर्मी, अभिव्यक्ति स्वतन्त्रताका अभियन्तालगायत सम्पूर्ण नागरिकहरुमा शुभकामना व्यक्त गर्दछ ।  

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध हुन्छ । नेपालमा गत वर्षभन्दा यस वर्ष बढी सञ्चारकर्मीहरु पीडित हुन पुगेको अवस्थाप्रति आयोग चिन्ता व्यक्त गर्दछ । नेपाल पत्रकार महासङ्घका अनुसार पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ६४ वटा घटना भएका छन् । जस्तोसुकै सङ्कटको अवस्थामा पनि चुनौतीहरुको सामना गर्दै सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरु भौतिक रुपमा असुरक्षित भएको, अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको, समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरु पक्राउ पर्ने गरेको, सञ्चारकर्मीहरुप्रति असहिष्णु व्यवहार हुने गरेको, सञ्चारकर्मीहरुको कार्यप्रति नै प्रश्न खडा गरिएको, समाचार सङ्कलनका लागि स्थलगत रुपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा समाजिक सञ्जालमा लेखेको आधारमा विभेदपूर्ण रुपमा साइबर अपराधमा मुद्दा चलाउने गरिएको जस्ता सूचनाहरु राष्ट्रिय मानव अधिकार आयोगमा प्राप्त भएका छन् । मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको मिडिया काउन्सिल विधेयक संसदबाट अझै पारित हुन सकेको छैन ।  

नागरिकको संविधानप्रदत्त सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको हकको प्रत्याभूतिका लागि सञ्चारकर्मीहरुको अहम् भूमिका हुने हुँदा सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट सञ्चारकर्मीहरुमाथि हुने गरेको दुव्र्यवहार र हतोत्साहित गर्ने कार्य  कानूनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता एवम् नेपालको संविधानको प्रस्तावना, धारा १७ (२) (क), धारा १९, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा १९ को समेत प्रतिकूल हुने देखिन्छ ।


अतः संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोग नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।

.......................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

 

Nepali Version Download