Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर ; उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आग्रह । २३ वैशाख, २०८१

प्रेस-विज्ञप्ति


२३ वैशाख, २०८१


रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर  
उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आग्रह


रूस र युक्रेन बिच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरुको मृत्यु भएको पुष्टि भइसकेको, केही घाइते भई उपचाररत रहेका तथा जीवन जोखिममा रहेकाले यथाशीघ्र उद्धारको लागि पहल गरिदिन भन्दै युद्ध प्रभावितका आफन्तहरु विगत १७ दिनदेखि काठमाडौँमा अनसनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस सम्बन्धमा आयोगमा उजुरी प्राप्त हुनुका साथै रुसी सेनामा रहेका व्यक्तिहरुका परिवार तथा आफन्तलगायतले उद्धारका लागि पहल गरिदिन भनी काठमाडौँको रत्नपार्कमा जारी राखेको आमरण अनसन स्थलको समेत आयोगले अनुगमन गरेको छ । लामो समयदेखिको आमरण अनसनका कारण अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको आयोगको अनुगमनका क्रममा बुझिएको छ । रुसी सेनामा भर्ना भई जोखिम अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्न र गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्ने सम्बन्धमा आवश्यक कदम चाल्न भनी गत १ पुस, २०८० मा आयोगले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको समेत आयोग पुनः स्मरण गराउँदछ । नेपालीहरु जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरुको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।  
अतः युद्धमा परी मृत्यु भएकाहरुको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहने नेपालीहरुलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन एवम् आमरण अनसनमा बसेका कृतु भण्डारी लगायतका व्यक्तिहरुको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

.......................
 डा.टीकाराम पोखरेल
  सहसचिव/प्रवक्ता

Download