अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन । २४ वैशाख, २०८१
प्रेस–विज्ञप्ति
२४ वैशाख, २०८१
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि कानूनमा उल्लेख भएबमोजिम सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै दिपक भण्डारीलगायतका व्यक्तिहरु विगत ७ दिनदेखि अनसनमा रहेको र यसबाट उनीहरुको स्वास्थ्य अवस्थामा पर्नसक्ने जोखिमप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगले अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सामुदायिक सहायता सेवा, व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने लगायतका विषयमा २०८० चैत्र १४ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग भएका सम्झौताहरुको कार्यान्वयन हुनुपर्ने माग राखी मिति २०८१÷१÷१८ गतेदेखि काठमाडौँको शान्तिवाटिकामा दिपक भण्डारीलगायतका व्यक्तिहरु अनसन बसिरहेको अनुगमनबाट पाइएको छ । स्पाइनल कर्ड इन्जुरी भएका एक जना अनसनकारीले पिसाब थैली लगाएको र शारीरिक अवस्था पहिलेदेखि नै कमजोर रहेको हुँदा अनसनमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको आयोगको अनुगमनबाट पाइएको छ ।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४, नियमावली २०७७ एवम् नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ ले पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोगी वा संरक्षक उपलब्ध गराउने तथा राज्यका सेवा सुविधाहरुमा प्राथमिकता दिनुपर्ने लगायतका व्यवस्था गरेको छ ।
अतः तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन एवम् आमरण अनसनमा बसेका दिपक भण्डारीलगायतका व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
.......................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता