प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर छानविनलाई निष्पक्ष बनाऊ । ९ जेठ, २०८१
प्रेस–विज्ञप्ति
९ जेठ, २०८१
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर
छानविनलाई निष्पक्ष बनाऊ
कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयलाई लिएर हिजो गिरफ्तार गरिएको र सो गिरफ्तारी कान्तिपुर ग्रुपका मिडियाहरुमा केही दिनदेखि निरन्तर प्रकाशित समाचारसँग जोडिएको भनी विभिन्न कोणबाट प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सम्बन्धमा आज आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुर प्रकाशनगृहमा पुगी अनुगमन गरेको छ भने आयोगको मधेश प्रदेश कार्यालय जनकपुुरबाट खटिएको टोलीले निज सिरोहियालाई धनुषास्थित प्रहरी हिरासतमा गई भेटेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार लोकतन्त्रका आधारस्तम्भ हुन् । नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको छ भने धारा १७ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लेख गरिएको छ । यसैगरी मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गरेको छ । नेपालको संविधान, प्रचलित कानून तथा नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय महान्धिद्वारा प्रत्याभूत गरिएका अधिकारहरुको सुनिश्चितता र संरक्षण गर्नु राज्यको दायित्व हुन्छ ।
फौजदारी मुद्दामा कसुरको अवस्था र मात्राको पर्याप्त आधार र कारण हेरी प्रमाणको मूल्याङ्कनसहित निष्पक्ष अनुसन्धान गरिनु मानव अधिकारको विषय हो । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १४ ले समेत स्वच्छ सुनुवाईको अधिकारको सुनिश्चितता गरेको छ ।
अत ः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रशारण गर्ने वातावरणको सुनिश्चितताका लागि संविधानप्रदत्त अन्तर्राष्ट्रिय कानूनद्वारा प्रत्याभूत अधिकारको संरक्षण गरी छानविनलाई निष्पक्ष बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
.......................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता