भ्रष्टाचारजन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न अनुरोध । ७ भदौ, २०८१
प्रेस-नोट
७ भदौ, २०८१
भ्रष्टाचारजन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न अनुरोध
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको भन्ने सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आज आयोगले हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई तपसिल बमोजिम पत्राचार गरेको छ ।
......................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता
.....
श्री राज्य व्यवस्था तथा सुशासन समिति
प्रतिनिधिसभा
विषय ः भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयक सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसूरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्धा चलाउनुपर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । भ्रष्टाचारजन्य कार्य जुनसुकै अवधिमा गरेको भए पनि त्यो गम्भीर अपराध भएको र त्यस्तो विषयमा हद म्यादकै कारणले भ्रष्टाचारजन्य कसुर गर्नेले उन्मुक्ति पाउने संभावना बढ्नुका साथै सुशासन र मानव अधिकारको उपभोगमा समेत बाधा उत्पन्न हुन जान्छ । अतः भ्रष्टाचार गर्ने व्यक्तिलाई हदम्याद समेतका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन आयोग समितिलाई अनुरोध गर्दछ ।