पाँचथर विष्फोटको घटनाका घाइते बालकहरूको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन । २४ भदौ, २०८१
प्रेस विज्ञप्ति
२४ भदौ, २०८१
पाँचथर विष्फोटको घटनाका घाइते बालकहरूको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन
पाँचथर जिल्लाको फालेलुङ्ग गाउँपालिका वडा नं. ५ डाँडागाउँमा मिति २०८१ भदौ १३ गते भएको विष्फोटको घटनाका घाइते बालकहरूको स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तप बहादुर मगर नेतृत्वको उच्चस्तरीय टोलीले आज अनुगमन गरेको छ । किर्तिपुर अस्पतालको Nepal Cleft and Burn Center मा पुगी उपचाररत बालबालिकाको अविभावक, उपचारमा संलग्न चिकित्सकहरू, अस्पतालका कार्यकारी निर्देशक लगायतसँग भेटी निजहरूको स्वास्थ्य अवस्था तथा उपचारको सम्बन्धमा जानकारी लिएको छ ।
घाइते बालकहरूको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र आजै निजहरूको अप्रेशन सम्पन्न भएको जानकारी उपचारमा संलग्न चिकित्सकहरूबाट प्राप्त भएको छ । साथै, सरकारको तर्फबाट मन्त्रीहरू सहितको टोलीले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्ने भनी प्रतिबद्धता जनाएको भए पनि घाइते बालकहरूका परिवारले हालसम्म पाउन नसकेको बुझिएको छ । अनुगमनबाट जलनको उपचार गरिने अस्पतालहरूमा आर्थिक स्रोत, विशेषज्ञ जनशक्ति तथा उपकरणहरूको समेत अभाव रहेको जानकारी प्राप्त हुन आएको छ । अनुगमनमा माननीय सदस्य डा. लिली थापा, आयोगका सचिव मुरारिप्रसाद खरेल र अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखा प्रमुख माया देवी शर्माको सहभागिता रहेको थियो ।
अतः घाइते बालकहरूको उपचारलाई निरन्तरता दिन, स्वास्थ्य उपचार खर्च तत्काल उपलब्ध गराउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, पीडित परिवारलाई जिवीकोपार्जनको व्यवस्था मिलाउन, जलनको उपचार गरिने अस्पतालहरूमा विशेषज्ञ सेवासहित आवश्यक उपकरणहरूको व्यवस्था गरी अस्पतालको सवलीकरण गर्न, विस्तृत शान्ति सम्झौताको बुँदा नं. ५.१.४ र यस सम्बन्धमा आयोगले पटक–पटक गरेका सिफारिसबमोजिम सशस्त्र द्वन्द्वको समयमा प्रयोग भएका विष्फोटक पदार्थहरू निष्कृय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
.........................
श्यामबाबु काफ्ले
उपसचिव÷सहायक प्रवक्ता