संवैधानिक आयोगहरुबिच समन्वय र सहकार्यसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक तथा छलफल । २१ असोज, २०८१
प्रेस नोट
२१ असोज, २०८१
संवैधानिक आयोगहरुबिच समन्वय र सहकार्यसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक तथा छलफल
राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारसम्बन्धी अन्य संवैधानिक आयोगहरुबिच समन्वय र सहकार्यको सम्बन्धमा नीतिगत कार्य गर्ने उच्चस्तरीय समन्वय समितिको बैठक राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवम् समितिका संयोजक तपबहादुर मगरको संयोजकत्वमा मिति २०८१ असोज २० गते बस्यो । बैठकले स्रोत प्राप्ति र परिचालनका लागि संयुक्त पहल गर्ने, नीतिगत निर्णयका विषयहरुमा साझा धारणा निर्माण गर्ने, आयोगहरुको सिफारिस कार्यान्वयनका लागि सामूहिक पहल गर्ने, आयोगहरुको संरचनात्मक सुधारका लागि अध्ययन गर्ने, कानूनी संशोधनका विषयमा साझा धारणा निर्माण गर्ने, सबै संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालय एउटै हुने व्यवस्थाका लागि पहल गर्ने, आयोगहरुले पेश गरेको वार्षिक प्रतिवेदनउपर संसद्मा छलफल हुने व्यवस्थाका लागि पहल गर्ने र आयोगहरुको कर्मचारी दरबन्दीका विषयमा साझा धारणा निर्माण गर्ने निर्णय ग¥यो ।
बैठकमा आदिवासी जनजाति आयोगका अध्यक्ष, रामबहादुर थापा मगर, थारु आयोगका अध्यक्ष, विष्णुप्रसाद चौधरी, मुस्लिम आयोगका अध्यक्ष, समिम मियाँ अन्सारी उपस्थित हुनुहुन्थ्यो । यसैगरी बैठकमा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशी, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, मधेशी आयोगका सदस्य जीवछ साह सहभागी रहनु भएको थियो ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरु सूर्य प्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा एवम् राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारिप्रसाद खरेल समेतको उपस्थिति रहेको थियो ।
...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता