Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

जेष्ठ नागरिकको अधिकारको सुनिश्चित गरौँ । जेष्ठ नागरिक सम्मानप्रति संवेदनशील बनौँ । ११ पुस, २०८१

 
   प्रेस–विज्ञप्ति
 
   ११ पुस, २०८१
 
जेष्ठ नागरिकको अधिकारको सुनिश्चित गरौँ ।
जेष्ठ नागरिक सम्मानप्रति संवेदनशील बनौँ ।
 
आज चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस “सभ्य समाजको आधार, जेष्ठ नागरिकमैत्री घरपरिवार” भन्ने नाराका साथ मनाइँदै छ । नेपालले जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले वि.सं. २०७८ साल पुस ११ गतेदेखि नेपाल सरकारले राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो । 
 
हाल नेपालमा जेष्ठ नागरिकहरुको सङ्ख्या २९ लाख ७७ हजार ३ सय १८ रहेको छ । जनगणना २०५८ देखि जनगणना, २०६८ सम्म आइपुग्दा जेष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर ३ प्रतिशत रहेकोमा २०७८ सम्म आइपुग्दा वृद्धिदर ३.५ प्रतिशत पुगेको छ । जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा जेष्ठ नागरिकको वृद्धिदर ३.५ प्रतिशत हुनुले अन्यको तुलनामा जेष्ठ नागरिकहरुको वृद्धि प्रतिशत बढी देखिन्छ । 
 
उल्लिखित तथ्याङ्कलाई विश्लेषण गर्दा भविष्यमा समाजमा जेष्ठ नागरिकको सङ्ख्या प्रतिशत अझ बढ्ने आँकलन गर्न सकिन्छ । औसत आयु वृद्धि, मृत्यूदरमा कमी, स्वास्थ्यप्रति सचेतनाका कारण जेष्ठ नागरिकहरुको जनसङ्ख्या वृद्धि हुँदै गएको देखिएको छ । जनसङ्ख्या वृद्धि हुनु सकारात्मक पक्ष हो । तथापि जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सम्बन्धमा संविधान, नीति, ऐन, नियमावलीका साथै तीनै तहका सरकारले विभिन्न योजना तथा कार्यक्रममा उल्लेख गरेता पनि अपेक्षित नतिजा हासिल हुन सकेको देखिँदैन ।
 
आयोगले जेष्ठ नागरिकको अधिकार संरक्षण र संवद्र्धनलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । जेष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनको क्रममा ग्रामीण तहका जेष्ठ नागरिकहरु आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरुले राज्यले प्रदान गर्ने सेवा सुविधाको अनुभूति गर्न नपाएको देखिएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाई हुनुका साथै राज्यबाट प्रदान गरिएका स्वास्थ्य एवम् यातायात सेवामा प्राथमिकता लगायतका सुविधा पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको छ ।  
 
जेष्ठ नागरिकको बढ्दो जनसङ्ख्याप्रति संवेदनशील हुँदै, तीन तहका सरकारले आवश्यकता पहिचान गरी जेष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न र जेष्ठ नागरिकको सम्मानमा जोड दिन आयोग तीनै तहका सरकार तथा सरोकारवाला सबैलाई आग्रह गर्दछ ।
 
..............................
 डा. टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

Download