Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

तीनकुने घटनाको छानविन जारी ; अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन आग्रह । २२ चैत्र, २०८१

प्रेस–विज्ञप्ति


२२ चैत्र, २०८१


तीनकुने घटनाको छानविन जारी
अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन आग्रह


काठमाडौँको तीनकुनेलगायतका क्षेत्रमा २०८१ चैत्र १५ गते भएको घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र यस आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यमहरुमा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको छ ।


घटना भएको दिन आयोगले विभिन्न टोलीहरु बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणा समेत सार्वजनिक गरिसकेको छ । घटनामा भएको क्षति र मानव अधिकारको उल्लंघनका विषयलाई लिएर आयोगमा थप उजुरी र ज्ञापनपत्रहरु समेत प्राप्त भएका छन् । घटनाको गाम्भीर्यता र उजुरीहरु समेतलाई मध्येनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानविन/अनुसन्धान गरिरहेको छ । छानविन/अनुसन्धान जारी छ । छानविन/अनुसन्धानका क्रममा आयोगले आवश्यकताअनुसार विशेषज्ञहरुको समेत सहयोग लिनेछ ।


आजै आयोगका माननीय सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको छ । निजलाई विना पूर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ । त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरुको उपचारको अवस्था बारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ ।
अतः आयोगको छानविन/अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ ।

..........................
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव

 

 

Download

Nepali Version Download