सन्दर्भ ः विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३); प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील बन । २० वैशाख, २०८२
प्रेस–विज्ञप्ति
२० वैशाख, २०८२
सन्दर्भ ः विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील बन
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) Reporting in the brave new world: the impact of Artificial Intelligence on Press Freedom and the Media (साहसिक नयाँ संसारमा रिपोर्टिङ्ग ः प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव) भन्ने मूल आशयका साथ विश्वभर मनाइँदै छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग सञ्चारकर्मी, अभिव्यक्ति स्वतन्त्रताका अभियन्तालगायत सम्पूर्ण नागरिकहरुमा शुभकामना व्यक्त गर्दछ ।
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध रहन्छ । सूचनाको हकका लागि अहोरात्र कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरु भौतिक रुपमा असुरक्षित भएको, सञ्चारकर्मीहरुप्रति असहिष्णु व्यवहार हुने गरेको, समाचार सङ्कलनका लागि स्थलगत रुपमा खटिँदा सञ्चारकर्मीलाई हतोत्साहित गरिएको तथा अभिव्यक्ति स्वतन्त्रता शङ्कुचनमा परेको जस्ता सूचनाहरु राष्ट्रिय मानव अधिकार आयोगमा प्राप्त भएका छन् । गत चैत १५ गते राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आन्दोलनको समाचार सङ्कलन गर्नेक्रममा तिनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सविना कार्कीको प्रहरीद्वारा भएको बलप्रयोगबाट घाइते भएको अवस्थाप्रति आयोग दुःख व्यक्त गर्दछ । उल्लिखित घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरुको जीवन जोखिममा रहेको यथार्थतालाई उजागर गरेको छ ।
नागरिकको संविधानप्रदत्त सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको हकको प्रत्याभूतिका लागि सञ्चारकर्मीहरुको अहम् भूमिका हुने हुँदा सुरक्षाकर्मी तथा जिम्मेवार निकायबाट सञ्चारकर्मीहरुमाथि हुने गरेको दुव्र्यवहार र हतोत्साहित गर्ने कार्य कानूनी शासन, लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता एवम् नेपालको संविधानको प्रस्तावना, धारा १७ (२) (क), धारा १९, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा १९ को समेत प्रतिकूल हुने देखिन्छ ।
अतः संविधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि भएका आक्रमणका घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोग नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।
.......................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता