Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह ; आयोगले निर्वाचनको अनुगमन गर्ने । २४ पुष २०८२

प्रेस विज्ञप्ति


२४ पुष २०८२


घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह 
आयोगले निर्वाचनको अनुगमन गर्ने


मानव अधिकार तथा मौलिक हकको सम्मान, संरक्षण र सम्वद्र्धन गर्दै देशलाई समुन्नत बनाउने राज्यको दायित्व हो । यस दायित्वलाई कार्यान्वयन गर्न सरकार सञ्चालन गर्ने राजनीतिक दलको अहम् भूमिका हुन्छ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने विषय पटकपटक स्मरण गराउँदै आएको छ । 
आगामी २०८२ फागुन २१ का लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनको अनुगमनको तयारी गरिरहेको छ । विगतका निर्वाचनहरुमा समेत आयोगले अनुगमन गरी नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, सञ्चारकर्मी, अनुगमनकर्ता र पर्यवेक्षकहरुलाई सुधार गर्नुपर्ने विषयमा विभिन्न सिफारिसहरु गर्दै आइरहेको छ  । 
मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राजनीतिक दलको महात्वपूर्ण भूमिका हुने भएकाले आफ्ना घोषणापत्रहरुमा मानव अधिकारका विषय समेटी त्यसको कार्यान्वयको सुनिश्चितताका लागि प्रतिबद्धता जाहेर गर्दा मानव अधिकार संस्कृतिको निर्माण र विकासमा योगदान पुग्नुका साथै देशको मानव अधिकारको अवस्थामा सुधार गर्न समेत मद्दत पुग्दछ । नेपालको संविधानले आत्मसात गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचन समेतको माध्यमबाट नागरिकको मानव अधिकारको उपभोगको सुनिश्चिता गर्न राजनीतिक दलहरूको समेत अहम् भूमिका रहने कुरा आयोग सबै दलहरुलाई पुनः स्मरण गराउँदछ । 
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २० अनुरुप दलहरुले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउन घोषणापत्रमा समेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्ने हुन्छ । संविधानले अवलम्बन गरेको मानव अधिकार, मौलिक हक, निर्देशक सिद्धान्त र नीतिहरुको कार्यान्वयनको दायित्व समेत राज्यका साथै सरकार सञ्चालनमा संलग्न दलहरुमा रहन्छ । 
यसै सन्दर्भमा आगामी २०८२ फागुन २१  मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र÷प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोग निर्वाचनमा भाग लिने सबै दलहरुलाई आग्रह गर्दछ । यस सम्बन्धमा आयोगले राजनीतिक दलहरुलाई पत्राचार समेत गरेको छ । विगतमा कतिपय दलहरुले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरी मानव अधिकारप्रतिको आफ्‌नो प्रतिबद्धताको कार्यान्वयन गरेकोमा त्यसको सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुनेछन् भन्ने आयोगले विश्वास लिएको छ । 
अतः हरेक राजनीतिक दलको प्रतिवद्धताको रुपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र÷प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनको लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न र निर्वाचन सम्बन्धमा यसअघि आयोगले गरेका सिफारिसहरुको कार्यान्वयन गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः आग्रह गर्दछ । 

डा. टीकाराम पोखरेल 
प्रवक्ता/सहसचिव

 

Download