Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन ; निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड । २२ माघ २०८२

 प्रेस विज्ञप्ति

२२ माघ २०८२

 निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको छ।यसै सन्दर्भमा आज आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन/पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको छ।छलफलका सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।आयोगमा भएको छलफल तथा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरूबाट भैरहेको अनुगमनबाट समेत आयोगले निम्नबमोजिम तथ्य प्राप्त गरेको छ :

  • राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरुले एक अर्को दल,  नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको ।
  • अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको ।
  • मतदाताहरूलाई ´कुन दल/नेतालाई भोट दिने ?´ भनी प्रश्‍न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरेको ।
  • निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको भनी प्रश्न उठेको ।
  • निर्वाचनपूर्व नै ´अमूक उम्मेदवारले जित्छ´ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको ।
  • मतदाता शिक्षा प्रभावकारी हुन नसकेको ।
  • केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको ।

यस अघि आयोगले राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चाकर्मीहरुसँग छुट्टाछुट्टै गरेको छलफलमा समेत उल्लिखित विषयहरुलाई उठाइएको थियो ।

अत: निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न,  मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न,  भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण नगर्न,  हिंसात्मक क्रियाकलाप बन्द गर्न,  मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।

.........................

डा. टीकाराम पोखरेल

प्रवक्ता/सहसचिव

Download